नेपाल स्काउट सुन्दरहरैँचा स्थानीय स्काउट समितिको आयोजनामा सुन्दरहरैँचा–५ स्थित हसिना सिमसार क्षेत्रमा प्रथम सुन्दरहरैँचा नगरस्तरीय क्याम्प २०८३ भव्य रूपमा सम्पन्न भएको छ। जेठ २९ गतेदेखि सुरु भएको उक्त क्याम्प आज एक विशेष समापन समारोहका बीच समापन गरिएको हो।
सुन्दरहरैँचा नगरभित्र स्काउट सञ्चालन भएका विद्यालयहरूमध्ये १२ वटा स्काउट दलका ३०० जना भन्दा बढी सहभागीहरूले क्याम्पमा उत्साहपूर्वक भाग लिएका थिए। क्याम्पभरि विभिन्न साहसिक खेलहरू जस्तै र्यापलिङ, क्याम्प फायर, टेन्ट पिचिङ, म्याप रिडिङ, हाइकिङ लगायत रोमाञ्चक गतिविधिहरू समावेश गरिएको थियो। यसैगरी, मनोरञ्जनात्मक गतिविधिहरू, सांस्कृतिक प्रदर्शनी तथा प्रतियोगिताहरूले पनि सहभागीहरूबीच उल्लास छाएको थियो।
सांस्कृतिक साँझको आयोजना गरिएको थियो, जसमा नृत्य प्रतियोगिता प्रमुख आकर्षणको रूपमा रहेको थियो। त्यसैगरी, छात्र तथा छात्रातर्फ छुट्टाछुट्टै चित्रकला प्रतियोगिता, गाँठो दौड प्रतियोगिता (नोट रेस), हाजिरीजवाफ प्रतियोगिता, सर्वधर्म सभा निर्माण प्रतियोगिता र मार्च पास प्रतियोगिता समावेश गरिएको थियो। यी गतिविधिहरूले सहभागी विद्यार्थीहरूको नेतृत्व क्षमता, टोली भावना, रचनात्मकता र आपत्कालीन अवस्थामा काम गर्ने सीपलाई उजागर गरेको थियो।
प्रतियोगिताको अंक तालिका अनुसार उच्च अंक प्राप्त गर्ने तीन विद्यालयलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सोही अंक तालिकाअनुसार ११ अंकसहित द राइजिङ इङ्लिस स्कुल प्रथम, १० अंकसहित हरैँचा मोडल दोस्रो र ८ अंकसहित ज्ञानज्योति स्कुल तृतीय स्थान हासिल गर्न सफल भए। प्रत्येक सहभागी विद्यार्थीलाई मेडल तथा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो, जसले उनीहरूको उत्साहलाई अझै थप मधुरो बनायो। समापन समारोहमा विजयी विद्यार्थीहरूका साथै उनीहरूका अभिभावक र शिक्षकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैँचा स्थानीय समितिका प्रमुख आयुक्त मनोज लामा कार्कीले भन्नुभयो, “विद्यार्थीहरूलाई साहसिक खेलहरू मार्फत अनुशासन र आत्मविश्वास बढाउँदै असल नागरिक बन्न प्रेरणा दिने र व्यावहारिक, जीवनोपयोगी सीप सिक्दै आत्मनिर्भर बन्न यस क्याम्पले सहयोग पुगेको छ। यसले भविष्यमा स्काउट गतिविधिहरू विस्तार गर्न थप ऊर्जा दिएको छ।” उहाँले सहभागी सबै विद्यालय, प्रशिक्षक, स्वयंसेवक र अभिभावकहरूको योगदानको प्रशंसा पनि गर्नुभयो।
यसैगरी, कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीले, “पछिल्लो समय सुन्दरहरैँचा लगायतका पालिकाहरूमा बढ्दो स्काउट सम्बन्धी विद्यार्थी लक्षित कार्यक्रमले स्काउटप्रति विद्यार्थीहरूको आकर्षण बढ्नुका साथै अभिभावक तथा विद्यालयहरूको विश्वास समेत जितिरहेको छ। हसिना सिमसार क्षेत्रजस्तो प्राकृतिक स्थलमा सञ्चालन भएको यस क्याम्पले न केवल सीपको विकास गर्यो, वन प्रकृतिसँगको सामीप्य र वातावरण संरक्षणको भावना पनि विकास गर्न मद्दत गरेको छ।
क्याम्पको सफलतापछि सुन्दरहरैँचा नगरपालिकाले समेत स्काउट गतिविधिलाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। स्थानीय समितिले यस्ता क्याम्पहरू नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ। समापन समारोहमा प्रमुख अतिथिहरू, शिक्षक, स्काउट नेता र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमको गरिमा अझै उच्च बनाएको थियो।




















