प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठक बहिष्कार गरेको छ।

समितिको यसअघिसहित बसेका दुईवटा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह लगातार दुई पटक अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बहिष्कार गरेको हो।

गत वैशाख ९ गते सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्री पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहसँग सांसदहरूले प्रश्न सोध्ने तालिका थिए।

सांसदहरूले गृह एवम् प्रधानमन्त्री बालेनसँग सुरक्षा(प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा जवाफ माग्ने तयारी कांग्रेसको थियो।

कांग्रेसले समिति सभापतिलाई पनि यसबारे जानकारी गराएको थियो। तर, प्रधानमन्त्री बालेन बैठकमा नआएपछि कांग्रेसले बैठक बहिष्कार गरेर हिँडेको हो।

संसदीय समितिको बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सचेतक निश्कल राईले प्रतिनिधित्व गर्छन्। त्यसैगरी, सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव पनि बैठकमा सहभागी भएनन्।