झापा, अर्जुनधारा। खुदुनाबारी परोपकार केन्द्रले संस्थाको भवन निर्माणका लागि सञ्चालन गरिएको “च्यारिटीका लागि भूमिदान महाअभियान” तथा “परोपकार जागरण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ” कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरेको छ।
केन्द्रले मिति २०८२ माघ २ गतेदेखि सुरु गरिएको भूमिदान अभियान र २०८२ चैत २४ गतेदेखि २०८३ वैशाख १ गतेसम्म सञ्चालन गरिएको महायज्ञको आर्थिक विवरण सार्वजनिक गर्दै पारदर्शिताप्रति प्रतिबद्धता जनाएको हो।
संस्थाद्वारा सार्वजनिक विवरणअनुसार भूमिदान, अक्षयकोष, पुराण सहयोग तथा अन्य आम्दानीबाट कुल १३ लाख २२ हजार ८२९ रुपैयाँ संकलन भएको उल्लेख गरिएको छ।
त्यसैगरी टेन्ट, साउण्ड सिस्टम, भोजन व्यवस्था, प्रचारप्रसार, पूजा सामग्री, यातायात, कलाकार, स्टेशनरी लगायत विभिन्न शीर्षकमा कुल ५ लाख ७२ हजार ६४४ रुपैयाँ खर्च भएको जनाएको छ।
आन्तरिक लेखा परीक्षण समितिबाट रसिद, भौचर, बिल तथा भरपाई जाँच गरी विवरण सार्वजनिक गरिएको संस्थाले जनाएको छ। केन्द्रले सहयोगदाता, शुभेच्छुक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधि निरन्तर सञ्चालन गर्ने जनाएको छ।




















