झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन्। बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारका ११ सदस्य  बिरामी परेका हुन्। 

जंगली च्याउ पकाएर खाएपछि सबैको स्वास्थ्यमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए। बिरामी हुनेमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका छन्। 

बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले बताए। बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ।

प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।