दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन्।

समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो। यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार पाएको छ।

५१ वर्षीय विजयले स्थापना गरेको दल टिभिकेले दुई वर्षमै प्रदेशको राजनीतिमा ठूलो सफलता हात पारेको छ। गएको महिना सम्पन्न प्रदेशसभा निर्वाचनमा २३४ सिटमध्ये १०८ सिट जित्दै पार्टीले बलियो प्रवेश गरेको थियो।

यद्यपि, एकल बहुमतका लागि आवश्यक ११८ सिट भने पुग्न सकेको थिएन। त्यसपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, माक्र्सवादी कम्युनिस्ट पार्टीलगायत दलहरूको समर्थन जुटाएर विजयले सरकार गठनको बाटो खोलेका हुन्।