श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा आफूलाई दिइएको समयप्रति असन्तुष्टि जनाउँदै लामो मन्तव्य राख्ने इच्छा व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको नयाँ अधिवेशन आजबाट सुरु हुँदैछ। पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ। शुभकामना मन्तव्यका लागि दलहरूको सांसद सङ्ख्याको आधारमा समय बाँडफाँट गरिएको छ, जसअनुसार श्रम संस्कृति पार्टीलाई ७ मिनेट समय छुट्याइएको छ।
सोही पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्ने तयारी रहेको छ। तर उनले सामाजिक सञ्जालमार्फत आफूलाई दिइएको समय पर्याप्त नभएको संकेत दिएका छन्।
‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो। ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ,’ उनले उल्लेख गरेका छन्। देशको स्वाधीनता, सम्प्रभुता, नागरिकका पीडा तथा विकासको आकांक्षालाई विस्तृत रूपमा उठान गर्न चाहेको उनको भनाइ छ।




















