नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत् उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि पूर्णबहादुर खड्कासहितका पुराना नेताहरूलाई आग्रह गरेका छन्।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहको समानान्तर गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो काम नसुहाउने टिप्पणी गरेका छन्।
‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा- न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ?’, उनले प्रश्न गरेका छन्।
नेता भण्डारीले तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको खड्का-कोइराला समूहका गतिविधिलाई घुमाउरो भाषामा गतिछाडा गतिविधिको संज्ञा दिएका छन्।
उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्। नेता भण्डारीले लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुन सक्ने बताउँदै तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत भनेका छन्।
उनले सबै नेता–कार्यकर्ताहरूलाई पार्टीको विधि र मूल्य-मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न पनि आह्वान गरेका छन्।




















