मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएमका पुराना विद्यार्थीहरूलाई पुरस्कृत गर्दे नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण सहित स्वागत गरेको छ।
विश्वविद्यालयको ‘मनमोहन इन्स्टिच्युट अफ ल’ ले शनिवार अपराध शास्त्रमा एलएलएमका पहिलो समूहका उत्कृष्ट विद्यार्थीहरूलाई नगद सहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखीकरण सहित स्वागत गरेको हो।
शनिवार विराटनगरमा सम्पन्न अभिमुखीकरण तथा स्वागत कार्यक्रममा बोल्दै विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्सटेक्नोलोजी अफ ल’ का डिन डा. रेखा श्रेष्ठले पाठ्यक्रम अनुसार गुणस्तरीय पढाई र समयमै परीक्षा र परिक्षफल प्रकाशनका लागि विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताईन।
उनले कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीहरूलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा पनि जोड दिन आग्रह गरिन।
मनमोहन इन्स्टिच्युट अफ लका प्रचार्य कोषराज न्यौपानेले गुणस्तरीय पढाइमा जोड दिएकै कारण पहिलो र दोस्रो चरणमै कानुन पढ्ने विद्यार्थीहरूको आकर्षण उच्च भएको बताए। उनले मनमोहनले कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग पनि सहकार्य गरिरहेको जानकारी गराए। प्रचार्य न्यौपानेका अनुसार मनमोहन कानुन विश्वविद्यालयले केही वर्षभित्रै कानुनमा पिएचडी तहको पठनपाठन सञ्चालन गराउने सोच बनाइरहेको छ। कलेजका शिक्षक तथा अपराध शास्त्री केशवराज पन्तले मनमोहनमा कानुनमा एलएलम अध्ययन गर्ने पहिलो समूहका विद्यार्थीहरूको पढाइको गुणस्तर आफूले सोचेभन्दा राम्रो पाएको बताए।
विश्वविद्यालयका परीक्षा विज्ञ इन्जिनियर युवराज चौधरीले परीक्षालाई मर्यादित बनाएर समयमै परीक्षाफल प्रकाशन गर्ने लक्ष्यमा विश्वविद्यालय सधैँ प्रतिबद्ध रहन्छ भने।
पहिलो समेष्टरका उत्कृष्ट विद्यार्थीहरू रामसुफल सदा र राजेश तिम्सिनाले मनमोहन विश्वविद्यालयको पढाइसँगै परीक्षा प्रणालीको खुलेर प्रशंसा गरे। कार्यक्रममा अपराध कानुनमा एलएलएममा भर्ना भएका तीस जना विद्यार्थीहरूलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम, परीक्षा र व्यवस्थापन प्रणालीबारे अभिमुखीकरण गराइएको थियो। साथै एलएलएम पहिलो समूहका प्रथम सेमेष्टरमा प्रथम हुने विद्यार्थीहरू रामसुफल सदा दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई विश्वविद्यालयको तर्फबाट जनही ४८ हजार र जेहेन्दार विद्यार्थी सञ्जयकुमार यादवलाई कलेजका प्रचार्यको तर्फबाट नगद ११ हजार गिफ्ट ब्याक स्कलर सीपले पुरस्कृत गरिएको थियो।
कोसी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साइन्स ,टेक्नोलोजी अफ ल’ अन्तर्गतको मनमोहन इन्स्टिच्युट अफ लले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर तहको पढाई सञ्चालन गर्दै आएको छ।




















