मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा शुक्रबार बिहान गम्भीर घाइते अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी नगरपालिका–९ पोखरीयाका ३२ वर्षीय पंकज साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साहलाई शुक्रबार बिहान करिब ६ः१५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोठगाउँ क्षेत्रमा सडक नजिकै गम्भीर अवस्थामा लडिरहेको अवस्थामा फेला पारिएको थियो। उनको शरीरको दायाँ भाग, टाउको तथा अनुहारलगायत विभिन्न अंगमा गहिरो चोटपटक देखिएको थियो।

प्रहरी चौकी गछियाबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा साह बिहीबार साँझ आफ्नै घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको खुलेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकै उनको मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा फेला परेको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी वरिष्ठ सहायक निरीक्षक डम्बरबहादुर थापा र इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भीमराज राईको नेतृत्वमा संयुक्त टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार साहको मृत्यु सवारीसाधनको ठक्करबाट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।