नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले सम्पूर्ण एकताका साथ पार्टीको १५ औं महाधिवेशन तयारीमा जुट्नुपर्ने बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले एकताका साथ महाधिवेशनमा जुट्न आह्वान गरेका हुन्।

कांग्रेसले चुनावी समीक्षा गर्न आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक राखेको छ।

‘नेपाली कांग्रेससँग दिग्बिजयी सिद्धान्त, गौरवपूर्ण इतिहास,अतुलनीय व्यक्तित्व भएका संस्थापक नेताहरू,सर्वाधिक त्याग र बलिदानको अटुट श्रृंखला, राष्ट्र निर्माणको सुस्पष्ट मार्गचित्र तथा सुनौलो भविष्य छ। त्यसका लागि अहोरात्र काम गर्न सक्ने आशालाग्दो नेतृत्व छ,’ उनले भनेका छन्, ‘तसर्थ तपशिलका बहसहरू छाडेर, विगतका तीता प्रसंगहरूलाई विस्मृतिमा राखेर, पार्टीको आन्तरिक एकतालाई प्रबर्द्धन गर्दै अघि बढ्नु आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता हो।’

उनले निरर्थक एवं अनुत्पादक बहस छाडेर एकताबद्ध भई साझा दायित्वमा केन्द्रित बन्नुपर्ने पनि बताएका छन्।

‘त्यसैले पार्टीका सबै साथीहरूलाई विनम्र आग्रह छ, आजकै मितिबाट सम्पूर्ण एकताका साथ पार्टीको १५ औं महाधिवेशनको तयारीमा जुटौं,’ उनले भने।

गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो।