आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा प्रयोजनका आजदेखि नेपाली सेना परिचालित भएको छ।
देशभरका १६५ वटै क्षेत्रको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना– २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका हुन्।
सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा परिचालित भएका हुन्। सुरक्षा योजना अन्तर्गत निर्वाचन प्रहरी (म्यादी प्रहरी) पनि निर्वाचन सुरक्षामा खटिइनेछन्।
सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने छन्। दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल तथा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ।
गत मंसिर ११ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए।
निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
नेपाली सेनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्नेछ।




















