झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित र बुद्धशान्ती गाउँपालिका-३ का श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ।

चेजजाँचकै क्रममा मोरङको लेटाङ-३ की तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लेटाङले र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई-८ का इन्द्रराज घिमिरेलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। 

त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१६ का राम तामाङ र संगे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधीसहित, धरान-१२ का विनय राई र धरान-१९ का रुविन राईलाई ३७० ट्याव्लेट प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको छ।