कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
तेह्रथुमबाट धरानतर्फ आउँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो। बसमा सवार १५ जना थिए। जसमध्ये ६ जना घाइते भएका छन्।
घाइते हुनेमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, ५ वर्षीय बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ।
बस चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का ४५ वर्षीय विष्णु थापालाई प्रहरी चौकी हिलेले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ।




















