बारामा एकै परिवारका आमाछोराको हत्यामा बुहारीको मुख्य भूमिका रहेको निष्कर्ष प्रहरीले निकालेको छ। विवाहेत्तर सम्बन्धका कारण बुहारीले प्रेमीको सहयोगमा श्रीमान् र सासुको हत्या गरेको प्रहरीको निष्कर्ष छ।
१४ माघको बिहानीपख २ बजेतिर परवानीपुर गाउँपालिका–१ रहरिया हिडमा बस्ने ४६ वर्षीय सुमीत्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको हत्या भएको थियो। उनीहरुको घरमा अपरिचित ५ जनाको समूह प्रवेश गरी चक्कु प्रहार गरी हत्या गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।
चक्कु प्रहारको आक्रमणबाट सुमीत्राका श्रीमान् ५० वर्षीय जगरुप मण्डल र २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका थिए। उनीहरुको अहिले पनि उपचार जारी छ।
प्रहरी अनुसन्धानका क्रममा आमाछोराका हत्या सोही घरकी बुहारी अर्थात मृतक राम ईश्वरकी श्रीमती २३ वर्षीया मनिता देवी मण्डलको भूमिका रहेको देखिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए। आफ्नो विवाहत्तेर सम्बन्धका कारण दुबईदेखि प्रेमीलाई बोलाएर श्रीमान् र सासुको हत्या गरिएको र नन्द र ससुरालाई घाइते बनाइएको एसपी कँवर बताउँछन्।
मनिता बाराकै प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरुको सम्बन्ध परिवारमा थाहा भएपछि विवाद भएको थियो।
हत्या गर्ने योजना बनाएपछि मनिताले दुबईमा रहेको प्रेमीलाई नेपाल बोलाएकी थिइन्। त्यसपछि धर्मेन्द्र ११ माघमा मात्रै काठमाडौं आइपुगेका थिए। नेपाल आए पनि घर परिवारको सम्पर्कमा नगई धर्मेन्द्र मनिताको सम्पर्कमा पुगेका थिए। अनि योजना बनाएर १४ माघको राति हत्या गरिएको प्रहरीले बताएको छ।
अहिले दुवै जनालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएरु प्रहरीले अनुसन्धान अघि बढाएको छ।




















