काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ। गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो।

गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन्। उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी काठमाडौँका एसपी रमेश थापाले बताए। 

प्रहरीले दुई राउन्ड गोली चलाएको हो। उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन्।

आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतङ्क मच्चाउँदै आएका थिए। पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।