विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ देशभरिकै राजनीतिक केन्द्रविन्दु बनेको छ । विशेष गरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको उम्मेदवारीले यो क्षेत्रलाई ‘हेभिवेट’ प्रतिस्पर्धाको थलो मात्र बनाएको छैन, समग्र प्रदेशकै चुनावी माहौललाई उचाइमा पुर्याएको छ।
नेपाली कांग्रेसको आन्तरिक समीकरण र विशेष महाधिवेशनपछिको अवस्थालाई हेर्दा डा. कोइराला अहिले पार्टीभित्रका सिनियर नेताका रूपमा चुनावी मैदानमा छन्। पार्टीका अन्य शीर्ष नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरू यसपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नरहेको अवस्थामा कोइरालाको उपस्थिति संसद् र नीति निर्माण तहमा अनुभवी नेतृत्वको सुनिश्चितताका लागि महत्त्वपूर्ण मानिएको यस क्षेत्रका मतदाता बताउँछन् ।
पछिल्लो समय नयाँ पुस्ता (जेन–जी) ले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र राज्यका निकायहरूको जवाफदेहिताको मुद्दालाई डा. कोइरालाले वर्षौँदेखि आफ्नो राजनीतिक मार्गचित्रका रूपमा उठाउँदै आएका छन् । नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं भन्छन्, ‘अहिलेको युवा पुस्ताले सुशासनको मुद्दालाई आन्दोलनकै रूपमा अगाडि बढाउनुभन्दा धेरै अघिदेखि नै शेखर दाइले यो विषयलाई प्रखर रूपमा उठाइरहनुभएको थियो । उहाँको राजनीति सधैँ विधिको शासन र पारदर्शिताको वरिपरि घुमेको छ, त्यसैले पनि सचेत युवाहरूले उहाँलाई आफ्नो आदर्शका रूपमा स्वीकार गर्छन् ।’मनोनयन दर्तापछि डा. कोइरालाले आफ्नो चुनावी अभियानलाई निकै व्यवस्थित र रणनीतिक ढङ्गले अगाडि बढाएका छन् । उनले समाजका प्रबुद्ध र बौद्धिक वर्गलाई समेत अभियानमा जोड्ने प्रयास गरेका छन्। कोइरालाको सचिवालयका अनुसार उनले हालसम्म विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका वडा तहका पदाधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरिसकेका छन् । यसका साथै प्राध्यापक, चिकित्सक, कानुन व्यवसायी जस्ता बौद्धिक समुदायसँगको अन्तरक्रिया र कुनै पनि दलमा आबद्ध नभएका लोकतन्त्रवादी युवा विद्यार्थीहरूसँगको छलफललाई उनले तीव्रता दिएका छन्। पछिल्लो समय राजनीतिमा देखिएको ‘स्वतन्त्र’ लहर र असन्तुष्टिको स्वरलाई चिर्न कोइरालाले युवा पुस्तालाई विश्वासमा लिने विशेष रणनीति अपनाएका देखिन्छन्।
यो क्षेत्रमा डा. कोइराला र नेकपा एमालेका विनोद ढकालबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ। ठिक १७ वर्षअघि २०६४ सालको संविधान सभा निर्वाचनमा पनि यी दुई नेताबीच यही क्षेत्रमा प्रतिस्पर्धा भएको थियो, जसमा कोइराला विजयी भएका थिए। १७ वर्षपछि पुनः एमालेले ढकाललाई कोइरालाविरुद्ध मैदानमा उतारेको छ । २०६४ यता भएका पाँचवटा निर्वाचनमा लगातार उम्मेदवार बनेका कोइरालाले तीन पटक जित हासिल गरी यस क्षेत्रमा आफ्नो बलियो पकड बनाइसकेका छन् । गत २०७९ को निर्वाचनमा उनले एमालेका हेभिवेट नेता लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
यसपटक नेकपा एमालेले पूर्वमन्त्री लालबाबु पण्डितलाई निर्वाचन कमाण्डर तोकेर विनोद ढकालको पक्षमा माहोल बनाउन टोल स्तरसम्म परिचालन कमिटीहरू गठन गरिरहेको छ । एमालेका जिल्ला उपाध्यक्ष सागर थापाका अनुसार पार्टीले आफ्नो साङ्गठनिक सञ्जाललाई पूर्ण रूपमा सक्रिय बनाएको छ। यता नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्रकुमार रायले पनि १ हजार १ सदस्यीय विशाल परिचालन कमिटी बनाएर विशेष गरी मजदुर र किसानहरूको मत तान्ने प्रयास गरिरहेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य पनि नयाँ अनुहारका रूपमा युवा मतदाताहरूलाई आकर्षित गर्ने एजेन्डासहित घरदैलोमा व्यस्त छिन्। उनी यो क्षेत्रका लागि परिचित अनुहार होइनन्। बालेन शाह सहुमबाट टिकट पाएकी आचार्यलाई भने युवा पुस्ताको भोट तान्ने रणनीतिमा छिन्। रास्वपा प्रतिको लहर देशै भरिरहेकाले त्यसको प्रभा यो क्षेत्रमा पनि पर्ने नेताहरू बताउँछन्। मोरङ क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा, बुढीगंगा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैंचा नगरपालिकाका ६ वटा वडा गरी कुल २० वटा वडा यस क्षेत्रमा पर्दछन्। १ लाख ३७ हजार ७३२ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसको पुरानो विरासत जोगाउने दाउमा कोइराला छन् भने एमाले र नयाँ शक्तिहरू आफ्नो प्रभाव विस्तार गर्ने दाउमा छन् ।




















