बाराको परवानीपुर गाउँपालिका–१ की सुमित्रादेवि र उनका छोरा रामेश्वर मण्डलको हत्यामा रामेश्वर मण्डलकै श्रीमतीको योजना भएको खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रामेश्वरकै श्रीमती २३ वर्षीया मानिता देवीको योजनामा सासू सुमित्रा र श्रीमान् रामेश्वरको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको हो।
बारा प्रहरीले मानितासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवा मानिताका पूर्वप्रेमी रहेको खुलेको छ। प्रहरीको अनुसन्धानका क्रममा वैदेशिक रोजगारीका लागि दुबईमा रहेका ती युवक मानिताका श्रीमान् र उनकी आमा सुमित्राको हत्या योजनासहित नेपाल आएको खुलेको छ।
उनी माघ १२ गते मात्रै दुबईबाट काठमाडौं आएको र त्यही दिन बारा पुगेको खुलेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भने मानिता देवीका प्रेमीकाले 'सुपारी'दिएर कन्ट्र्याक्ट किलरको प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ।
बारा परवानीपुर गाउँपालिका–१ का ४६ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको गएराति घरभित्रै घाटीमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो।
मृतक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डल र बहिनी २० वर्षीया रिणा कुमारी मण्डल पनि घाइते छन्। घाइतेको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान अझै जारी रहेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जनाकारी दिए।
हत्यामा सलग्न एक व्यक्ती भारत भागेको आंशकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। प्रहरीका अनुसार मानिता देवीका प्रेमीको शरीरमासमेत सामान्य चोटपटक लागेको भेटिएको छ। मानिता देवी पनि सामान्य घाइते भएकी छन्।




















