नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन्। बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए।
उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे। समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताए।
उनले जेनजी आन्दोलनपछिको अवस्थालाई उल्लेख गर्दै उक्त घटनाक्रमपछि विप्लव पक्ष वैचारिक अन्योल र दिशाहीनतर्फ गएको टिप्पणी गरे। त्यसपछिको समयावधिमा मुख्य नेतृत्व नै असहज अवस्थाबाट गुज्रिएको जस्तो अनुभूति भएको उनले स्पष्ट पारेका छन्। संयोजक दाहालले आफ्ना पक्षबाट पनि विगतका कमजोरीको समीक्षा गर्दै एकताको मार्ग रोजिएको उल्लेख गरे।
उनले ‘विप्लव नेतृत्वको दलका लागि अझै पनि एकतामा फर्किने अवसर खुला रहेको भन्दै आत्मसमीक्षासहित साझा राजनीतिक यात्रामा जोडिन आए पुनः स्वागत गरिने स्पष्ट सन्देश दिएका छन्।




















