कोशी प्रदेशसभालाई जेनजी समूहका आन्दोलनकारीले घेराउ गरेका छन्। विराटनगरमा जेनजी आन्दोलन चर्किएको छ। 

जेनजी पुस्ताको सक्रियतामा प्रदर्शनकारीहरु प्रदेशसभा भवन छिर्ने तयारीमा पुगेका छन्। प्रदेशसभाको पूर्व र पश्चिमतर्फ प्रहरीले राखेको ब्यारिकेट प्रदर्शनकारीले बल प्रयोग गर्दै भत्काएपछि केही समयमै त्यसलाई जलाइदिए। ब्यारिकेट जलाइएपछि दुवै पक्षबीच दोहोरो झडप सुरु भएको थियो।

‘हामी अब प्रदेशसभा कब्जा गर्ने तयारीमा छौं। गेटनजिक पुगिसकेका छौं,’ आन्दोलनमा सहभागी एक युवाले भने, ‘प्रहरीले अवरोध गरिरहेको छ। तर, हामी त्यो छिचोलेर अघि बढ्दैछौं।’ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ। 

तर, अश्रुग्यास र लाठी प्रहारबीच पनि भिड अघि बढिरहेको देखिएको छ। झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन्। प्रदेशसभा वरपरको अवस्था तनावपूर्ण बनेको छ।