पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ।
खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक बिरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए।
उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन्। एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउ लिफ्टको झोलामा राखेर उपचार भइरहेको छ। खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने छ।
उनले भने,‘काउ लिफ्टिङ झोलामा मेसिन पनि हुन्छ। यो गाई बिरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो। पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो। यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो। उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरूलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौँ। जबसम्म यसले खुट्टा टेक्न सक्दैन तबसम्म झोलामै राख्छौँ।’
त्यस्तै, भुईँमा हुँदा धेरै गुम्सने, घाउहरू हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न सङ्क्रमणबाट समेत बचाउन सकिने धारणा राखे।
झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए।
‘यसरी राख्दा झोला सारेर नै यता उता गर्न सक्ने, घाँस, खोले खाने पनि गर्दछ। यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्था पनि सुधार हुँदै गएको छ। बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने।


















