पहिरोले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका–६, जरे पुलनजिक रुखसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि साना–ठूला गरी करिब ७८० सवारीसाधन विभिन्न स्थानमा होल्ड भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार गजुरीमा १००, खानीखोलामा १००, खत्रीपौवामा ५०, आदमघाटमा २५०, मलेखुमा ८० र विशालटारमा २०० सवारीसाधन रोकिएका छन्।
साना गाडीहरूलाई भने वैकल्पिक मार्ग प्रयोग गरी डाइभर्सनमार्फत् पठाइरहेको प्रहरीले जनाएको छ। यो सडकखण्ड काठमाडौं भित्रिने मुख्य नाकामध्ये एक हो। सडक खोल्ने प्रयास भैरहेको उनले बताए।


















