सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेख रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको स्कुल बसको ढोकाबाट लडेर फैजान घाइते भएका थिए। 

कक्षा ३ मा सोही विद्यालयमा अध्ययनरत फैजान बसको ढोकामा उभिरहेका बेला ढोकाबाट लडेर गम्भीर घाइते भएपछि बरहथवाको संकटमोचन अस्पतालमा लगिएको थियो। 

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्ज पठाइएको थियो। उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटना पश्चात बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।