नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन्।
सोमबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै गभर्नर डा. पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वाहानामा ठगी गरेको पाइए सो बैंकलाई तुरुन्त कारबाही गर्ने चेतावनी दिएका हुन्।
धनुषाका व्यापारीहरूले विगतमा बैंकहरुले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो निलाम गरेको गुनासो गरेपछि गभर्नर डा. पौडेलले यस्तो निर्देशन दिएका हुन।
छलफलमा धनुषाका व्यवसायीहरूले कम रकमको ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो पोखेका थिए। सो कुरामा गभर्नर डा. पौडेलले गम्भीरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए।
उनले बैंकहरुलाई ऋण लिन आउने जोसुकैसँग राम्ररी व्यवहार गर्न र ग्रामीण भेगका किसान र अशिक्षित ग्राहकहरूका लागि विशेष दोभासे बैंकमा व्यवस्था गर्न निर्देशन दिए।
छलफलका क्रममा मिटर ब्याजका समस्या न्यूनीकरण गर्न सरकारले अपनाएका कदमहरू राम्रो भएपनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरूलाई विवाह भोज भतेरका लागि ऋण पाउन अझ: गाह्रो भएको निष्कर्ष निकालिएकोमा गभर्नर डा. पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखे।

छलफलमा बैंकहरुका प्रतिनिधिहरूले मधेस प्रदेशमा ऋण लिनेको सङ्ख्या भन्दा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या बढी भएको गुनासो गरेका थिए।