उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरूले उद्यमशीलतामा नवीनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन्।
सोमबार ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशीलतालाई प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए। मन्त्री भण्डारीले महिलाहरू उद्यमशीलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनुपर्ने समेत बताए। उनले यो आर्थिक वर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे।
उनले नेपालको उद्योगहरूको समस्या नै अरूमा आधारित हुनु नै नराम्रो पक्ष भएकाले अरूको भर पर्न नहुने बताए। उनले नेपालको लोकल मदिरालाई समेत विदेशमा बेच्ने तयारी गरिरहेको र अब नयाँ मोडालिटीका साथ अघि बढ्ने समेत बताए।
उनले भने, ‘मुल्याकंन कहाँ हुन्छ भन्दा उत्पादित वस्तुको हुन्छ। आफ्नो उत्पादनको बजारीकरण गर्न आवश्यक छ। उद्यमशीलतालाई प्राथमिकतामा राखेर समस्यालाई समाधान गर्न आवश्यक छ। कानुन अथवा नीति नियमबाट उद्यमशीलतालाई प्रवर्द्धन गर्न आवश्यक छ। यति बेला नेपालमा आर्थिक पुँजीलाई जसरी प्रवर्द्धन गर्नुपर्ने हो त्यो हुन सकेन। ललितपुर महानगरपालिकाले आयोजना गर्दा लगानीको क्षेत्रको बजारीकरण भइरहेको छ। नेपालको उद्योग क्षेत्र प्रतिस्पर्धामा आउन सकेको छैन। नेपालको उद्योगहरूको समस्या नै अरूमा आधारित हुनु नै नराम्रो पक्ष हो। हामीले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिन आवश्यक छ।’
त्यसैगरी, उनले नेपालमा महिलाहरूले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्री भनेर महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए।