प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढङ्गले अध्ययन र छानबिन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यस विषयलाई गम्भीर रूपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन्। 
उनले भने, ‘यसबारे गम्भीर ढङ्गले अध्ययन र छानबिन गर्न जरुरी छ। सबैले उठाउँदै आइरहेको विषय यही थियो। उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ। सरकारले ३० दिन भित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ। हामीले त्यो कुरामा विश्वास पनि गरेको छौँ। म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबै भावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु। 
त्यस्तै उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्न बताए।
‘हामीले सदनभित्र असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिसक्ने लाखौँ शिक्षकसँग सरकारले प्रतिबद्धता गरेको छ। हामीले त्यो विधेयक पारित गर्नुपर्ने छ। सरकार कुनै पनि बहानामा त्यो त्यो जिम्मेवारीबाट नपन्छियोस्।’ उनले भने 
निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने शक्ति बस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको छ।