राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन्।
सोमबार सभामुख देवराज घिमिरेले बैठक सुरु गरे लगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका हुन्।
यद्यपि, सभामुखले प्रतिपक्षी दल रास्वपा र राप्रपाको बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन्। यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बेल घेराउ गरेर नाराबाजी गरिरहेका छन्।
सभामुख घिमिरेले भने सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफलमा भाग लिन समय दिइरहेका छन्।