नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसद्को वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै  उनले प्रतिपक्ष दलका मान्यहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद् चल्नु आफैँमा दुखद पक्ष भएको बताएका हुन्।
उनले भने, ‘मलाई एउटा कुरा अनौठो लागेको छ। वास्तवमा संसदमा प्रतिपक्ष दलका मान्यज्यूहरु बेल घेराउ र नाराबाजीमा हुनुहुन्छ। यता हामीले संसद् चलाई रहेका छौँ। यो कस्तो परम्परा हामी बसाल्दै छौँ। मलाई अचम्म लागेको छ हाम्रो  नियमावली र हाम्रो संसदीय अभ्यासले यो खालको तरिकाले संसद् चलाउनुलाई एउटा दुखद पक्षको रूपमा लिन सकिन्छ।’ 
त्यस्तै, सांसद ज्वालाले बजेट छलफलप्रति पनि असन्तुष्टि जनाउँदै सैद्धान्तिक छलफल अघि नबढ्दै मन्त्रालयगत बजेट पुस्तक वितरण गरिनु गलत भएको बताए।
‘यसले सैद्धान्तिक छलफल रुमलिएको छ,’उनले भने, ‘अब छलफल त्यता केन्द्रित हुने अवस्था छ। सहरी विकास मन्त्रालयको मात्र कुरा गर्दा पनि बजेट सरकारका केही मन्त्रीहरूले एकलौटी रूपमा कब्जा गरेको जस्तो देखिन्छ।’
उनले मन्त्री र नेताका बुवाआमाको नाममा, पार्टी र जनसङ्गठनका कार्यालय निर्माणका लागि अरबौँ रुपैयाँ विनियोजन गरिएको बताए। ‘उनले भने, ‘वास्तवमा हामी यो बजेटको सैद्धान्तिक छलफलमा छौँ। सैद्धान्तिक छलफल अगाडि नबढ्दै मन्त्रालयगत पुस्तकहरू वितरण गरिएका छन्। जसले गर्दाखेरि यो सैद्धान्तिक छलफल पनि एक किसिमले रुमलिएको छ। अब चाहिँ छलफल त्यता केन्द्रित हुने अवस्था छ। जस्तो सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा खेरी यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको जस्तो देखिन्छ। मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसङ्गठनका पार्टी कार्यालय बनाउन अरबौँ रकम बाँडिएको छ। तर दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकताहरूमा बजेट नभएर जनताहरू छटपटाइ रहेका छन्। ’
सांसद ज्वालाले बजेट निर्माणको प्रक्रियामा देखिएको पक्षपाती रवैयाको विरोध गर्दै जनताको प्राथमिकतालाई केन्द्रमा राखेर बजेट बनाइनुपर्ने माग गरे।