नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उद्घाटन गरेका छन्।
शुक्रवार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परम्पराको संरक्षण स्थलको रूपमा निर्माण गरिएको सो भवनले नयाँ पुस्ताका लागि ज्ञान, सीप र कलाको केन्द्रको रूपमा स्थापना हुने विश्वास व्यक्त गरे।
मैथिली भाषा संविधानमा दर्जा राष्ट्रिय भाषा रहेकाले यसको विकास र संरक्षणमा बढी जोड दिनुपर्ने उनले बताए। मधेस प्रदेशको नामाकरण जनक र जानकी प्रदेश राखेको भए अझ: राम्रो हुन्थ्यो भन्ने धारणा उनले व्यक्त गरे।
उनले जनकपुरधाम र जानकी माताको महत्वबारे चर्चा गर्दै जनकपुरधामको धर्ती महान् रहेको उल्लेख गरे।
कार्यक्रममा कोषका अध्यक्ष जीवनाथ चौधरीले जनकपुरधामको विकासका लागि जनकपुरदेखि अयोध्यासम्म रेल चलाउन केन्द्र र प्रदेश सरकारले पहल गरिदिन आग्रह गरेका थिए।
उनले मधेसमा बोलिने सबैभन्दा बढी मैथिली भाषालाई कामकाजको भाषा बनाउन आग्रह गरे।
मधेस प्रदेश सरकारको सात करोड रुपैयाँको लागतमा निर्माण मैथिली विकास कोषको भवनमा सांस्कृतिक कला, सभ्यता झल्काउने कार्यक्रम, गोष्ठी, सम्मेलन हुने अध्यक्ष चौधरी जानकारी दिए।