अन्तर्राष्ट्रिय स्तरमै बजार विस्तारमा आक्रामक बन्दै गएको फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमै पहिलो पटक तीन करोड रुपैयाँको लगानीमा दरबारमार्गमा आधिकारिक स्टोर खोलेको छ।
शुक्रवारदेखि दरबारमार्गमा औपचारिक रूपमा स्टोर उद्घाटन गरी विक्री सुरु गरेको विश्व प्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले आगामी असोज महिना भित्रै सुन्धारास्थित सिभिल मलमा पनि स्टोर खोल्ने जनाएको छ।
हालका लागि यो नेपालमा रहेको एक मात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले स्पष्ट पारेको छ। उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरूसहित आधिकारिक च्यानलबाट मात्र उपलब्ध हुने एक्सक्लुसिभ अनलाइन उत्पादनहरू समेत प्रस्तुत गरिएको कम्पनीको भनाइ छ।
काठमाडौँको प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा खुलेको यो स्टोरले जीवनशैली र परफरमेन्स दुवैका लागि उच्च गुणस्तरयुक्त फुटवेयर उपलब्ध गराउने छ। स्केचर्सका उत्पादनहरूले सजिलो, नवीनता र आधुनिक शैलीका लागि विश्वमै ख्याति कमाएका छन्। जुन स्केचर्सको पहिचान नै बनी सकेको हो। नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजनाअनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी गरेको छ।
‘नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ,’ कम्पनीका एमडी विश्वास थोकरले भने,‘यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्त्वपूर्ण सुरुआत हो।’
यस अघि नेपाली ग्राहकले अमेरिका बाट नै उक्त ब्राण्डका जुत्ता मगाएर लगाउनुपर्ने अवस्था थियो। तर अबदेखि ग्राहकहरूले नेपालमै यो ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाउने छन्। यसै वर्ष उपत्यका बाहिर पनि यसका विभिन्न शाखा विस्तार गर्ने उनले जानकारी दिए।