विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन्। 
शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन्।
उनले यस प्रकरणले कानुनी सुधारको खाँचो औँल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन्। 
त्यसैगरी, पार्टीको आगामी १५औँ महाधिवेशनको सन्दर्भमा बोल्दै महामन्त्री थापाले अहिले त्यसबारे सोच्ने समय नभएको स्पष्ट पारे।
उनले आफूलाई १४ औँ महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए। महामन्त्री थापा लोकतन्त्रवादी याक्थुङ सङ्घको अधिवेशनमा सहभागी हुन धरान आएका हुन्।