गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ।
विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका बेला गृह मन्त्रालयमा दुवैपक्षबीच आज बिहान छलफल भएको हो।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए।
उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरि नै चल्ने बताए।
उनले भने, ‘हामीले सरकारसँग धेरै पटक सम्झौताहरू गर्यौँ। यसपाली उधारो सम्झौता गर्नेवाला छैनौँ। कुनै नाजयज मागहरू राखेका छैनौँ। गण्डकी प्रदेश सरकारले गैरकानुनी रूपमा राइड सेयरिङलाई मान्यता दिएको छ यो फिर्ता लिनुपर्छ भनेका हौँ। तर आजको छलफलमा वार्ता कमिटी गठन गर्ने सहमति भएको छ। वार्ता कमिटीमा यातायातका चार र अन्य मन्त्रालयका सात गरी ११ जनाको वार्ता कमिटी गठन गरेर आजबाटै छलफल हुने सहमति भएको छ। आज दिनभरि नै बसेर यसको निचोड निकालेर प्रदेश सरकारले ल्याएको राइड सेयरिङको मान्यतालाई स्थगन गर्ने गरेका आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छौँ। अब यातायातमा कहिले पनि आन्दोलन नहुने गरेर एउटा वातावरण बनाउनुपर्छ।’
विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ। विशेष गरी अहिले उनीहरूले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन्।