उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनिया सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन्।  
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र समझदारीलाई पुनः ताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनिया सरकारको सकारात्मक प्रतिबद्धता आएको बताए। 
उनले भने, ‘नेपाल–चीनको पुरानो सम्बन्ध, लामो समयदेखिको मित्रतालाई अझ सुदृढ गर्ने र दुई देशबीचका साझा मान्यताहरू सम्झौता एवम् समझदारीलाई पुनः ताजकी गर्ने सद्भाव भ्रमणको रूपमा रह्यो। भएका सहमतिहरूलाई पुनः ताजकी र कार्यान्वयन गर्ने कुरामा चिनिया सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ।’
यस्तै, उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत रूपबाट अगाडि बढाउने, आपसी सम्बन्धहरूलाई मजवुद बनाउने विषयको छलफलहरूमा पनि सहभागी भएको बताए। 
राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै आज स्वदेश फर्किएको हो। 
चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख व्यक्तित्वहरूसँग भेटवार्ता गरेकी थिइन्।