इटहरी। निजी प्रयोजनका सवारीसाधनलाई भाडाका गाडीसरह प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको मागसहित सोमबार बिहानदेखि नै कोशी प्रदेशमा पनि सार्वजनिक सवारीसाधन ठप्प छन्।
संयुक्त आन्दोलनको समर्थनमा धरान र इटहरी क्षेत्रमा बिहानैदेखि साना तथा ठुला कालो प्लेटका यात्रुवाहक गाडी सञ्चालनमा आएका छैनन्। केही ट्याम्पो र दुईपांग्रे सवारीहरू मात्रै सञ्चालनमा छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जानकारी दिए अनुसार कोशी प्रदेशका १४ ओटै जिल्लाहरूमा लामा तथा छोटा दुरीका सवारीका सार्वजनिक बस नचल्दा यात्रुहरू समेत समस्यामा परेका छन्। 
कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको बताए।