पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष वक्ताको रूपमा मन्तव्य दिँदै ओजस्वी आचार्यले सनातन धर्म, संस्कार र समाजको वर्तमान अवस्थामाथि गहिरो चिन्ता प्रकट गरेकी छन्। 
उनले आफ्नो सम्बोधनमा हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, वैज्ञानिक र मार्गदर्शक धर्मको रूपमा व्याख्या गर्दै यसले  केवल आध्यात्मिक उन्नतिको बाटो देखाउने मात्र नभई वैज्ञानिक अनुसन्धान र मानवीय चेतनाको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेकी हुन्।
उनले भनिन्, ‘आज विश्वकै सबैभन्दा पुरानो र मूलभूत धर्मको रूपमा स्थापित हिन्दु धर्म जसले मानवीय सिर्जना मात्र होइन। खोज, अध्ययन, अनुसन्धान र वैज्ञानिकको क्षेत्रमा पनि मार्ग निर्देश गरिरहेको छ। आज विश्वभरि नै शान्ति फैलाउन चाहने ती बौद्ध, जयन्त र सिक धर्महरू सनातन संस्कृतिको उपजको रूपमा स्थापित छन्।’
साथै उनले आचार्यले हिन्दु धर्मलाई विश्वकै सबैभन्दा पुरानो, मूलभूत र वैज्ञानिक धर्मको रूपमा चित्रण गर्दै यसले मानव सिर्जनासँगै खोज, अध्ययन र अनुसन्धानको बाटो देखाएको उल्लेख गरिन्।
उनले बौद्ध, जैन र सिक धर्महरूलाई पनि सनातन संस्कृतिको उपज बताउँदै यिनले मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्ति दिलाउने मार्ग प्रदान गरेको उल्लेख गरिन्। उनले आजको समाज वैज्ञानिकताको नाममा संस्कारविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘जसले बौद्धिक प्राणीको रूपमा स्थापित मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्त बनाउँदै संस्कार संस्कृतिहरू गुण र व्यवहारतर्फ लैजान अभिप्रेरित गर्दछन्। आज हामी र हाम्रो समाज खोज अनुसन्धान र वैज्ञानिकको बलमा अनस्थपुर्ण बन्दै छ। पुँजीको चक्रवादमा फसेर आफ्नो घर परिवार समाज समुदाय राष्ट्र र मुलुकलाई भुल्दै छ। मै खाऊँ, मै लाऊँ, सुख सयल र मोज मै गरु, अरू मरुन् दुर्लभहरू भन्ने भाष्य सिर्जना हुँदै छ।’  
यसैगरी उनले वृद्ध अभिभावकलाई वृद्धाश्रममा छोड्ने प्रवृत्तिलाई असंवेदनशील आधुनिकताको क्रूर स्वरूप भन्दै आलोचना गरिन्।
उनले भनिन्, ‘जसलाई आमा सृष्टिको प्रतीक लाग्दैन, जसलाई बुवाको भूमिका जीवनको सुरुवाती सौन्दर्य लाग्दैन, ती व्यक्ति केवल शरीरले मानव होलान्, आत्माले होइन। बुढा भएका बाआमालाई वृद्धाअश्रममा एक्लै छाडेर आफ्नो  जीवनको सुन्दरता खोज्ने हिँड्ने ती जनावरलाई के थाहा आमा सृष्टि हुन् र बुवा जिन्दगीको एउटा त्यस्तो स्वरूप हो जसले जीवनको सुरुवातीलाई सुन्दर बनाइदिन्छ। ती सुन्दरताकै कल्पनामा आफ्ना रहर र आवश्यकतालाई तिलाञ्जली दिन्छ। ’
१८ वर्ष पुगेपछि स्वतन्त्रता खोज्दै कर्तव्य बिर्सनु संस्कार होइन, दम्भ र क्रोधमा आफूलाई स्थापित गर्नु सनातन शिक्षा होइन, भन्दै आचार्यले समाजमा फैलिँदो विकृति, व्यक्तिगत स्वार्थ र मूल्यहीनतालाई गम्भीर चुनौतीको रूपमा चित्रण गरिन्। वर्तमान प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले सनातन संस्कारलाई हेप्दै अगाडि बढ्यौँ भने हाम्रो समाज कता पुग्ला ? हाम्रो भविष्य कस्तो बन्ला ? हाम्रो संस्कृति के बाँकी रहला ? भन्दै गम्भीर प्रश्न उठाइन्।
उनले भनिन्, ‘यही सनातन संस्कृतिलाई अपमान गरेर अवौद्धिक,अवैज्ञानिक र अगुणिको रूपमा स्थापित गर्दै अगाडि बढ्दा हाम्रो समाज कहाँ पुग्ला, हाम्रो भविष्य कस्तो बन्ला ? हाम्रो दर्शन र सनातन र संस्कृतिलाई कस्तो प्रभाव पर्ला ? आज आम नेपालीले सोच्न जरुरी छ। व्यक्तिगत स्वार्थ र पुँजीगतको लोभमा परेर हामी हाम्रो संस्कार र संस्कृति बिर्सिरहेका छौँ। हाम्रो  अस्तित्व गुमाइरहेका छौँ। ’
यसैगरी ओजस्वी आचार्यले सम्पूर्ण नेपाली जनतालाई आफ्नो जरा र संस्कृति फर्केर चिन्ने आह्वान गरिन्।  
उनले भनिन्, ‘यदि संस्कार बिस्र्यौं भने अस्तित्व नै गुम्छ। यो केवल धर्मको होइन, हाम्रो सम्पूर्ण सभ्यताको संरक्षणको लडाइँ हो। आज समय छ—हाम्रा संस्कार फर्काउने, हाम्रा मूल्य सम्झने र हाम्रो अस्तित्व जोगाउने। नत्र हामी केवल आधुनिकतामा हराएका स्मृतिहरू बनौँला।’