जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ।
होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारबाही गर्न माग गर्दै बिहानदेखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरीबीच झडप भएको हो।
प्रहरीले सडक खोल्ने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरू प्रतिरोधमा उत्रेका थिए। सो क्रममा अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौँ राउण्ड अश्रु ग्यास प्रहार गरेका छन्। स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्।
सो क्रममा दर्जनौँ स्थानीय र प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले कति जना घाइते भएका छन् भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। गत चैत्र २ गत्ते शनिवार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिवार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो। तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन्।