उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ। 
चैत्र १६ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मूर्ति खोला किनारमा बोराभित्र प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) बेवारिसे अवस्थामा फेला पारेको हो।
बरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याइएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भइरहेको छ। 
यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का रोहित झा र विवेक बि।क।लाई प्रतिबन्धित लागूऔषध ट्याब्लेट ६० चक्की सहित पक्राउ गरेको छ।