सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै निकायहरूले कानुनले दिएको आम्दानीको स्रोतहरूको खोजी गर्न आग्रह गरेका छन्। 
आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरू खोज्न र कानुन बनाएर काम गर्न आग्रह गरेका हुन्। 
उनले भने, ‘आम्दानी केही छैन, किन नगरेको ? भवनहरूको आचारसंहिता हुनुपर्दथ्यो त्यसपछि केही पहल गर्न सकिन्थ्यो, केही शुल्क लगाउन सकिन्थ्यो, त्यसैले आम्दानीको स्रोतहरू खोज्नुपर्‍यो। कानुनले दिएको आम्दानीको स्रोतहरू खोज्नुपर्‍यो। कानुन बनाएर गर भनेको ठाउँमा कानुन बनाउनुपर्‍यो। नत्र प्रदेश सभाहरूको के काम भयो र। नगर सभाको सदस्यहरू सबै आफ्नो नगरको विधायक हुन् प्रदेशलाई किन दिने स्थानीय विधायनले पनि केही न केही प्रवर्द्धन गर्नुपर्‍यो।’
उनले विद्यालय, स्वास्थ्य चौकी र प्रहरी कार्याल्यहरुमा ल्यापटपसम्म नहुनु दुःखद कुरा भएको भन्दै सबै ठाउँमा इन्टरनेट उपलब्ध गराउने पनि बताए। उनले राज्यले धेरै खर्च गरेको तर काम नदेखिएको भन्दै ‘सङ्घीय सांसदलाई हात्ती भन्दै प्रदेश सांसदलाई बाख्राको संज्ञा दिए।   
‘सङ्घीय सांसद त हात्ती नै भए। तीनलाई १० भारी घाँस दिनुपर्‍यो। प्रदेश अन्तर्गतका बाख्रा भए एक मुठा घाँस चाहियो। स्थानीयलाई पनि चाहियो। जिम्मेवारीसहित तलवभत्ताको रूपमा होला। राज्यको धेरै खर्च हुँदा कहीँ न कहीँ त देखिनु परेन राज्यले अधिकतम उपयोग गर्न सक्नुपर्‍यो,’ उनले भने।