नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू आज नेपाल फिर्ता भएका छन्।
आइतबार पुरातत्त्व विभाग काठमाडौंंले विशेष कार्यक्रमको आयोजना गरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू सार्वजनिक गरेको हो।
विभागका अनुसार यीमध्ये तीन वटा पौवा चित्रहरू (१५–१८ औँ शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानका बुद्धको मूर्ति (नवौंं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो।
यसै सन्दर्भमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मूर्ति नभई हाम्रा आस्थाहरूलाई, विश्वासहरूलाई, सम्पदाहरूलाई फर्काउन सफल भएको बताए।
उनले नेपालबाट हराएका हरेक मूर्तिहरूले बोकेको महत्त्व, आम सम्पदाको महत्त्व, संस्कृतिको महत्त्व आस्थाको दृष्टिकोणले मापन गर्न नसकिने बताए।
उनले भने, ‘नेपालबाट हराएका हरेक मूर्तिहरूले बोकेको महत्त्व, आम सम्पदाको महत्त्व, संस्कृतिको महत्त्व धेरै छ। यसमा यो मूर्ति कति केजीको थियो भन्ने कुरा मापन हुँदैन। यो मूर्तिहरूको महत्त्व बहुमूल्य छ। आस्थाको दृष्टिकोणले मापन गर्नै नसकिने तौल छ। त्यसैले हामीले हाम्रा आस्थाहरूलाई, हाम्रा विश्वासहरूलाई, हाम्रा सम्पदाहरूलाई फर्काउन सफल भएका छौँ।’
साथै उनले हाम्रा सम्पदाहरू संसारको जुनसुकै कुनामा पुगे पनि हरेक नेपालीहरूले फर्काउने सोच राख्नुपर्ने बताए।
उनले भने, ‘हाम्रा सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगोस् त्यो कुनामा नेपालीहरू छन्। नेपालीहरूले आफ्नो सम्पदा चिन्छन्, यो हाम्रो सम्पदा हो भनेर जान्दछन्, यसको महत्त्व थाहा पाउँछन् र त्यसमा फर्काएर ल्याउने कुरामा सन्सारभरि फैलिएका नेपालीहरूले फर्काउने सोच राख्नुहुनेछ भन्ने मैले आशा लिएको छु। नेपालबाट चोरिएका मूर्तिहरू नेपालीले जसरी पनि फर्काउँछन् भन्ने एउटा सन्देश आजको चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरूले पुष्टि गरिसकेको छ।’