धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ।
होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड पूर्ण रूपमा ठप्प पारेका छन्।
आइतबार (आज) बिहान ७ बजेदेखि मुख्य सडक घेरेर उनीहरूले आवत जावत ठप्प बनाएका छन्। गत बुधवार पनि उनीहरूले सडक अवरुद्ध गरेका थिए। सो दिन जिल्ला प्रहरी कार्यालय धनुषाले हत्यामा संलग्न रहेको भनिएका अन्य अभियुक्तलाई समात्ने प्रतिबद्धता जाहेर गरेका थिए। तर चार दिन बितिसक्दा पनि कोही पक्राउ नपरेको भन्दै पुनः आजबाट मृतक आँशुकी आमा र गाउँवासीहरू अनिश्चितकालिन सडक अवरुद्ध र धर्नामा बसेका छन्।
चैत्र २ गत्ते शनिवार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए। छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिवार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो। तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ। घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ।