सिन्धुलीको कमलामाई नगरपालिकामा सरसफाइ गर्ने एक कर्मचारीलाई आइतबार बिहान गाडीले ठक्कर दिँदा ज्यान गएको छ।
सरसफाइको लागि बिहान कार्यालय तर्फ जाँदै गर्दा प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार साइकलमा सवार खपाङ्गीलाई झापाबाट काठमाडौँ जाँदै गरेको गाडीले कमलामाई नगरपालिका–६ रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते खपाङ्गीलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।