इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ। 
पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ। अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको थियो।
जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो। 
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो। उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए।
गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो भने मुम्बईको यो लगातार दोस्रो हार हो।