पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले विरोध र्याली निकालेको छ।
शनिवार बेलुका निकालिएको र्यालीमा सहभागी पत्रकारहरूले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमणलाई निस्तेज पार्न दबाब दिएका छन्।
विरोध र्यालीमा सहभागी धनुषाका पत्रकारहरूले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइँदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइँदैन’ जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको कार्यालयबाट सुरु भएको र्याली भैरव चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानुचोकमा पुगेर पुनः जनक चोकमा आई कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताए। उनले सञ्चार गृहमा भएको तोडफोडको क्षतिपूर्ति माग गर्दै पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरे।
‘हामी चैत १६ गते स्थापना दिवस मनाउने उत्साहमा हुनु पर्नेमा दुःखद रूपमा शोकमा डुबेका छौँ,’ गुप्ताले भने। उनले अहिले आन्दोलनकारीहरू समेत पत्रकार र मिडिया हाउसलाई लक्षित गरेर हिंसा मच्चाउँदै गरेको भन्दै सम्पूर्ण पत्रकारहरूलाई गोलबद्ध हुन अपिल गरे।
र्यालीमा सहभागी दुई दर्जनभन्दा बढी पत्रकारहरूले महासङ्घको भवन अगाडि एक मिनेट मौनधारण गर्दै दिवङ्गत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले दीप प्रज्वलन गरेर रजकको सम्झनामा एकताबद्ध भएर आफूहरूको सङ्घर्षलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको घटनाले स्थानीय सञ्चार जगतमा ठुलो हलचल मच्चाएको छ। पत्रकार महासङ्घ धनुषाले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर चुनौतीको रूपमा लिँदै दोषीमाथि कडा कारबाहीको माग गर्दै यसप्रति राष्ट्रिय ध्यानाकर्षण गराएको छ।