मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन्। 
आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन्। 
‘दुर्गा प्रसाईं तपाईँहरूबाट टाढा छैन। केही १२ भाइ मिडिया हात धोएर मेरोपछि लाग्या छन्। यो नागरिक विद्रोहलाई सफल पार्न सबै जना लागिदिनुहोस्। म भागेको छैन, म भाग्दिनँ। पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन। किनकी मलाई गोञ्जालो बनाएर यो आन्दोलन दबाउन खोजिएको छ। म सुरक्षित मात्रै बसेको हो। मलाई भेटेको ठाउँमा गोली हानिदिनु भन्ने प्रधानमन्त्रीबाटै आदेश छ भन्ने सुनेपछि म सुरक्षित मात्र बसेको हुँ। म नेपाल र नेपाली छोडेर म भाग्दिनँ। म भाग्न र झुक्न जन्मेको होइन। बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन्। 
त्यस्तै उनले आन्दोलनका दिन बिहानैदेखि विभिन्न भेषभुषामा युवा सङ्घका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेको समेत आरोप लगाए।
आफूलाई  गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेको थाहा पाएर अरू उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको दाबी गरेका छन्। 
‘चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा सङ्घका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन्। हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिईकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले। मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए। स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो। अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्ने रहेछन् भन्ने बुझेर अरू उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ,’उनले भने