खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी संस्थानको कार्यालहरुमा सेवा सर्त सम्बन्धी विनियमावली आएको बताएका छन्। 
आइतबार नेपाल खानेपानी संस्थानको कर्मचारी सेवाशर्त सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विनियमावलीको बारेमा धेरै प्रयास गरेर अहिले स्वीकृत भएको बताएका हुन्।
उनले भने, ‘म मन्त्री भएको आठ महिना जति भइसकेको छ। जबदेखि म खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले तब बिचबिचमा मैँले खानेपानी संस्थानको कार्यालहरुमा जाँदा सबै कर्मचारीहरूको एउटै कुरा थियो, हाम्रो विनियमावली खोइ रु खास गरेर यो विनियमावलीको बारेमा धेरै प्रयास गरेर अहिले स्वीकृत भएको छ।’
साथै उनले कर्मचारीहरूको चाहना बमोजिम विनियमावली आएको बताए। उनले यसले कर्मचारीहरूको अनुसार परिमार्जन गर्न सकिने र कर्मचारीहरूको आवश्यकता अनुसार यसलाई अगाडि बढाउन सकिने बताए।
उनले भने, ‘जुन कर्मचारीहरूलाई विनियमावीको चिन्ता थियो। त्यो अब दूर भएको छ। खत्तम भएको छ। अब कर्मचारीहरूको चाहना बमोजिम विनियमावली आएको छ। यसलाई साझा रूपमा लिएर जानुपर्छ। कसैलाई चोट पुग्छ, लाग्छ भने विनियमावली भनेको कुनै रामायण वा महाभारतको ग्रन्थ होइन परिवर्तन नहुनलाई। परिमार्जन गर्न सकिन्छ तर संशोधन पनि गर्न सकिन्छ। कर्मचारीहरूको आवश्यकता अनुसार यसलाई अगाडि बढाउन सकिन्छ। त्यसकारण यो कुनै ग्रन्थ होइन, की यसलाई परिवर्तन हुन सक्दैन। केही थप्नुपर्ने, केही मिलाउनुपर्ने छ भने त्यो अवश्य हुनेछ।’