ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्। 
शनिवार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्न सके दैनिक जीवनमा मात्रै नभई मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताएका हुन्।
उनले भने, ‘पानी बिना जीवन एकछिन कल्पना गर्न पनि हामीलाई गाह्रो छ। सबैभन्दा बढी पानी अर्थात् जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दै गर्दा हामी महसुस गर्न सक्छौँ। यसरी तुलनात्मक ढङ्गले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। यसलाई सही सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो। दैनिक जीवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात् जलस्रोत अत्यन्तै उपयोगी छ। खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढी रहेको छ।’
साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतीहरूको व्यवस्थापन गर्नुपर्ने बताए। उनले हिमालहरूको अवस्था, हिमनदीहरूको अवस्था र त्यसबाट श्रृजित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर रूपले लागिरहेको समेत बताए।
उनले भने, ‘हामीले स्वच्छ पानीका कुरा गरिराखेका छौँ। र पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतीहरूको व्यवस्थापन आवश्यक छ। वातावरण प्रभावका कुरा गरिराखेको छौँ। वातावरणका असरका कारण, हिमालहरूको अवस्था, हिमनदीहरूको अवस्था र त्यसबाट श्रृजित समस्याहरूको समाधानका लागि नेपाल सरकार गम्भीर छ। विभिन्न दातृ राष्ट्रहरूसँग, विकास साझेदारी राष्ट्रहरूसँग छलफल र अनुरोध गरिराखेको छ। हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरू आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु।’