जनकपुरबाट करिब ५ क्विन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा बर्दिबासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्विन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
शुक्रवार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।
ढल्केबरतर्फबाट जनकपुरतर्फ आउँदै गरेको मधेस प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रङ्गको आयसर मिनी ट्रकलाई धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ७ लक्ष्मिनिया चौक स्थित ढल्केबर–जनकपुर सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा भेटिएको हो।
मिनिट्रकको माथिल्लो भागमा डोरी बाँधी सोही डोरी माथि रातो प्लास्टिक भित्र खैरो डोरीले बाँधी लुकाई छिपाई राखी ल्याउँदै गरेको अवैध लागुऔषध गाँजा ३४ पोका बरामद गरिएको जनाइएको छ।
गाँजा, मिनी ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ बस्ने बुद्धि बहादुर सिन्तानको छोरा वर्ष २५ को सञ्जीव सिन्तान सहित मिनिट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाइएको छ।