रौतहटमा बेमौसमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ।

चन्द्रपुरसहित उत्तरी भेगमा शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो। 

चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले सखाप पारेको हो। 

अबको एक/दुई महिना पछी घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ। मकै खेती गर्दा बिरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए। 

सुगाबाटबचाउन सकिएपनिप्रकृतिवाट बचाउन नसकिने उनले बताए। तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकै बाली नष्ट गरेको छ। वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षति गरेको स्थानीय कृषकहरूले बताएका छन्। 

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आँप, लिची, कटहर जस्ता बालीमा बढी क्षति गरेको कृषकहरूको भनाइ छ। आँप र लिचीको मजुर फुल अर्थात् बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षति पुगेको उनीहरू बताउँछन्। 

कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तिबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ। 

असिना पानीले खपडा, फुस, टाली घर पनि क्षति पुगेको स्थानीयले बताएका छन्। हिउँदे वर्षा र असिनाका कारण इट्टामा पनि क्षति पुगेको व्यवसायीहरू बताउँछन्। असिना पानीले गरेको क्षतिका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरूको माग छ।