रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन्। विगत चार महिनादेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन्। 
एनआइसी एसिया बैङ्कको कमी कमजोरीका कारण यहाँका लाभग्राहीले भत्ता पाउनबाट वञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए। 
उनका अनुसार  करिब ८ हजार लाभग्राहीहरू सामाजिक सुरक्षा भत्ता पाउन बाट वञ्चित छन्। गत पुस महिनामा नै गुजरा नगरपालिकाले बैङ्कको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए। 
सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगी छिटो भन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन्। 
अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरूले चेतावनी समेत दिएका छन्।
सिमराभवानीपुरमा रहेको एनआइसी एसिया बैंकका शाखा प्रबन्धक एमडि सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताए। 
केवाइसी अपडेट नभएकाले समस्या भएको उनको भनाइ छ। रमजान चलिरहेको र होली नजिक आएकोले भत्ता समयमा नै दिन पालिकावासीले माग गरेका छन्।