मधेस प्रदेशका आठ जिल्ला आँप र लिचीको लागि पकेट क्षेत्र मानिन्छ। विशेष गरी रौतहटमा आँप र लिचीको व्यवसायिक खेती हुने गर्दछ। 
तर फाल्गुनको पहिलो सातादेखि नै आँप र लिचीमा मोजर÷मजुर (फूल) लाग्न थालेका छन्। 
चैतको मध्यसम्म टिकोरा (आँपको सुरुवाती अवस्था) चिचिला देखा पर्ने गर्दछ। अहिले आँप र लिचीमा लागेको फूलले कृषक खुसी भएका छन् भने उत्पादन बढ्ने अपेक्षा गरिएको छ।
आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुवा नामको किराको सङ्क्रमण हुने कृषक शम्भु यादवले बताए। यसका लागि होली सकिएपछि रोग र किराबाट जोगाउन औषधि छिर्ने तयारी थालिएको उनको भनाइ छ। 
उनले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ।’ आफूले १० कठ्ठामा आँपको बोट लगाएको र यस वर्ष राम्रो आम्दानी हुने विश्वास गरिएको उनको भनाइ छ। रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ। कृषि ज्ञान केन्द्र गौरका अनुसार आँप र लिची मोजर हेर्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ।