दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडर सिपको सदस्यमा नियुक्त भएका छन्।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तर दृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ।

परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनेछन्।

दलित लाईभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने अभियान हो, जसले विश्वभर न्याय, समता, समावेशिता, र दिगो विकासका लागि सङ्घर्षरत विचार तथा प्रयाससँग सहकार्य गर्दै विश्वव्यापी प्रतिरोध निर्माण गर्ने लक्ष्य लिएको छ। यसै क्रममा परियारको नियुक्ति अभियानका लागि कोशे ढुङ्गा साबित हुने विश्वास लिइएको छ।

परियारले विगत २० वर्षदेखि युवा, शान्ति निर्माण, र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्। उनी सन् २०२० मा विश्व आर्थिक मञ्चकै यङ्ग ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए।

विश्व आर्थिक मञ्चमा ३६ विभिन्न विषयगत काउन्सिल छन्, जसमा सात सयभन्दा धेरै विज्ञहरू प्राज्ञिक क्षेत्र, व्यापार, सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिनिधित्व गर्दै आएका छन्। यी काउन्सिलहरू विश्वमा सकारात्मक परिवर्तन ल्याउने अवधारणाहरूको पहिचान र प्रसार गर्ने उद्देश्यले काम गर्छन्।

परियारको नयाँ भूमिकाले सामाजिक न्याय र समानताका पक्षमा विश्वव्यापी अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।